संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको दक्षिण एसियाली भूपरिवेष्ठित राष्ट्र; प्राकृतिक, साँस्कृतिक, जातीय, धार्मिक एवम राजनैतिक विविधता बीचको अटुट एकता भएको सुन्दर देश नेपालको लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित इस्मा गाउँपालिका ऐतिहासिक पृष्ठभूमिबाट नामकरण भएको हो ।वि.सं. १५५० ताका स्थापना भएको इस्मा चौबिसे राज्य मध्येको एक थियो। शुरुवाती समयमा अर्याल जातिको शासन रहेको इस्मा प्रारम्भमा ४००० कुरिया र २४ मौजा (गाँउ) ले बनेको थियो।यसको सीमाना पूर्वमा मुसिकोट, पश्चिममा अग्लुङ्ग, उत्तरमा ग्वालिचौर र दक्षिणमा धुर्कोटसम्म थियो। वि.सं. १८४३ साल असोज ४ गते गोरखा राज्यमा एकीकरण हुनु पूर्व यहाँ ठकुरी (राठौर) जातिको शासन रहेको इतिहासमा पाउन सकिन्छ । ।
वि.सं. २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानले व्यवस्था गरेको स्थानीय सरकारको अवधारणा बमोजिम ७५३ स्थानीय तहमध्ये इस्मा गाउँपालिका पनि एक हो । यस गाउँपालिकाको पूर्वमा मुसिकोट र रेसुङ्गा नगरपालिका, पश्चिममा मालिका र धुर्कोट गाउँपालिका, उत्तरमा मालिका गाउँपालिका र दक्षिणमा धुर्कोट गाउँपालिका रहेका छन् । यस गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन् जसमा साबिकको हस्तिचौर गा.वि.स. लाई २ वटा वडा १ र २ मा विभाजन गरिएको छ भने दर्लामचौर, दोहोली, इस्मा रजस्थल र अमरपुर गा.वि.स. हरुलाई क्रमश ३, ४, ५ र ६ वडाहरुमा विभाजन गरिएको छ।यहाँका मुख्य स्थानहरुमा इस्मा कोट, इस्मा मैदान, दोहली, नयापोखरा, रामकोट, ठाड्ढुङ्गा, हस्तिचौर, रातडाँडा, छल्दीपनाह, छिनुवा, हुलाके, बुल्म, अमरपुर, चाँपटारी, दोबाट आदि रहेका छन । यस गाउँपालिकामा मा.वि. ७ वटा तथा आधारभुत र अन्य गरी जम्मा ४४ वटा शैक्षिक संस्थाहरु रहेका छन् भने ५ वटा स्वास्थ्य चौकी, एउटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र ३ वटा सामुदायिक स्वास्थ्य संस्था रहेका छन् ।